नेपालको आन्तरिक मामिलामा चीनले कुनै हस्तक्षेप नगर्ने

१४ पुष, काठमाडौं । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनले आफ्नो तर्फबाट कुनै हस्तक्षेप नहुने दाबी गरेको छ।

नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका प्रमुख नेताहरुसहित अन्य नेताहरुसँग भेटघाट गरिरहेको बेला बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले सोमबार नेपालको आन्तरिक मामिलामा चीनले कुनै प्रकारको हस्तक्षेप नगर्ने उल्लेख गरेको हो।

आइतबार र सोमबार नेपालका प्रमुख अधिकारीहरु र नेताहरुसँग भेट गरेको चिनियाँ टोलीले मंगलबार आज नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट्ने भएको छ। यता नेपाल मामिलालाई लामो समयदेखि नियालीरहेका चिनियाँ विज्ञहरुले भने नेपालको राजनीतिक अवस्थाको बारेमा चासो राख्नुका पछाडि चीनका केही मनासिब कारण रहेका बताएका छन् ।

चीनको फुदान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन्, ‘चीनले प्रस्तावित वेल्ट एण्ड रोड परियोजना अनुसार नेपालमा धेरै ठूलो लगानी र एकदमै गहन सहकार्य गरेको छ ।’

उनले एउटा छिमेकीको हिसाबले नेपालको आन्तरिक अवस्थाको बारेमा चासो राख्नु र अन्तरपार्टी सहकार्य अनुसार आफ्ना साझेदारलाई सहयोग गर्नु र आदानप्रदान गर्नुका पछाडि मनासिब कारणहरु रहेका छन् जुन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको दावी गरेका छन् ।

त्यसैगरी संघाई एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हू झियोङले चिनियाँ कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी र अन्य राजनीतिक दलहरुबिचको राजनीतिक आदानप्रदान भारतको चासोको विषय नभएको बताएका छन् ।

उनले यदि चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाभित्रको विवादको सहजीकरणका लागि सहयोग नै प्रदान गर्ने अर्थात् यस्ता समस्या समाधान गर्न अनुभव नै प्रदान गरेको भए पनि यो पूर्णरुपमा वैधानिक र रिजनेबल भएको बताएका छन् । चिनियाँ विज्ञहरुले चीनले नभई भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत दावी गरेका छन् ।

[sidebar name="button post"]