१३ पुष, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र जसपाका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । दुवै जना पूर्वप्रधानमन्त्रीसँग चिनियाँ टोलीले उनीहरुकै निवासमा गएर भेटघाट गरेको हो ।

खनाल निवास डल्लुमा झण्डै १ घण्टा कुराकानी गरेको चिनियाँ टोलीले सानेपा पुगेर बाबुरामसँग पनि भेटघाट गरेको हो । चिनियाँ टोलीले खनाल र भट्टराईसँग नेपालको वर्तमान परिस्थितिको बारेमा छलफल गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोसहित ४ सदस्य प्रतिनिधि मण्डलले यसअघि हिजो आइतबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।
सोमबार बिहान प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरेको चिनियाँ टोलीले नेकपाभित्रको आन्तरिक विवाद मिलाउने प्रयास गरेपनि त्यो सम्भावना कम देखिएको छ ।











