१२ पुष, काठमाडौं । दक्षिण एसियामै नेपालमा बलियो कम्युनिष्ट सरकार बनेकोमा सन्तोष गरेको उत्तरी छिमेकी चीन नेकपामा विभाजन आएपछि चिन्तित देखिएको छ । चीनको उक्त चिन्ता दूर गर्न आज चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ एचौले नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं ओर्लिएको छ ।
लामो समय नेकपा विभाजन रोक्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सकृय भएपनि दक्षिणी छिमेकीको प्रभावले असफल भएको ठम्याई चीनको देखिएको छ – एकजना विदेश मामलाका जानकार भन्छन् ।
खासगरी भारतीय जासुसी संस्था रअ प्रमुख सोमन्तकुमार गोयल आएर प्रधानमन्त्री केपी ओलीसँग मध्यरातमा वान टू वान छलफल गरेपछि नै राजनीतिले नयाँ कोर्ष लिएको बुझाई उनको रहेकोछ । राजदूत यान्छी नेकपा फुटबाट जोगाउन विफल भएको ठम्याईका साथ आज चिनियाँ पक्षले उच्चस्तरीय टोली पठाएको पनि उनले दाबी गरेका छन् ।
उक्त चिनियाँ प्रमण्डलले नेकपाका दुबै पक्षका नेताहरुसँग छलफल गर्ने बुझिएको छ । तर अब जति नै छलफल गरेपनि पार्टी एकताको सम्भावना टरेकाले न्यूनतम क्षतिका लागि मात्रै छलफल हुन सक्ने अनुमान उनले गरे ।
स्रोतका अनुसार प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी चिनफिनको सन्देश लिएर आएका छन् । सकेसम्म पार्टी एकता कायम रहोस् नभएपनि सहकार्यको बाटो खोजियोस् भन्ने सन्देश चिनियाँ राष्ट्रपतिको हुन सक्ने अनुमान गरिएकाे छ ।









