९ पुष, काठमाडौं । सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज पनि अलग-अलग केन्द्रीय कमिटी बैठक बस्दै छ ।प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तर रूपमा केन्द्रीय कमिटी बैठक बसेको दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहसम्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी छ ।
यस्तै यता दाहाल-नेपाल समूहको काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे राखिएको बैठकमा पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी रहेकाे छ । दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेको छ । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।
अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको छ । यसैगरी दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।
एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन । गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो ।
दुई समूहबीच अब पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू हुने देखिएको छ । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेको थालेकाे छ । नेकपाको ओली समूह मंगलबार र प्रचण्ड–नेपाल समूह बुधबार आयोग पुगेका हुन् ।
दुवै समूह एकले अर्को समूहका शीर्ष नेतादेखि केन्द्रीय सदस्य तानातान गर्नेदेखि आफ्नो समूहका नेता–कार्यकर्ता संरक्षणमा सक्रिय भएका छन् । प्रदेश र जिल्ला कमिटीदेखि तल्ला कमिटीसम्म, स्थानीय सरकारका जनप्रतिनिधिदेखि जनसंगठनको नेतृत्व पनि क्रमशः दुवै समूहको नेकपामा विभाजित भएका छन् । यद्यपि यसको अन्तिम तस्बिर आउन अझै बाँकी छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै ओलीले गत आइतबार ‘पुस ५ मा’ प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरेको थियो ।









