Ad #144479

८ पुष, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आज विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूको बैठक बोलाएको छ ।

संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको एक हलमा बस्नेछ । यस बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ ।

हिजो मंगलबार मात्र यस समूहले माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ । नेपाललाई अध्यक्ष र दाहाललाई संसदीय दलको नेता चयन गर्ने समझदारी उनीहरूका बीच अघि नै भइसकेको र यसबारे निर्णय मात्र हुने स्रोतले जनाएको छ ।

यसअघि अस्ति सोमबार डाकिएको सांसदहरूको भेलामा प्रचण्ड–नेपाल समूहमा ९० जना विघटित संसदका सांसदहरू सहभागी थिए ।

यसअघि संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा दाहाललाई प्रस्ताव गरिएको थियो । प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई बनाउनुपर्ने प्रस्ताव उक्त अविश्वास प्रस्तावमा राखिएको थियो ।

हिजो मंगलबार काठमाडौंका बेग्लाबेग्लै स्थानमा ओली पक्षले र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो केन्द्रीय समितिको बैठक बसाएसँगै नेकपा औपचारिक रूपमा फुटिसकेको छ ।

दुवै पक्षले आधिकारिक नेकपा आफूहरू भएको दाबी गरेका छन् । यसको निरुपण सम्भवतः निर्वाचन आयोगद्वारा हुनेछ ।