६ पुष, काठमाडौं । नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूको बैठकले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको साझा धारणा बनाएको हो ।
कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।
३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निष्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।
आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।












