Ad #144479

३० मंसिर, काठमाडाैं ।  पछिल्लाे समय नेकपाभित्र भइरहेकाे शक्तिसंघर्षले संवैधानिक परिषद्को बैठकमा असर परेकाे छ । पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान परिषद्को बैठक बोलाएका थिए ।

तर, सभामुख अग्नि सापकोटा बैठकमा गएनन् । सापकोटाले बैठक बहिस्कार गरेको आज दोस्रोचोटी हो । यसअघि बाेलाइएकाे बैठकमा अन्तिम समयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सहभागी नहुने सूचना दिएपछि बैठक प्रभावित भएको थियाे ।

परिषदका अध्यक्ष एवं प्रधानमन्त्रीले बोलाएको बैठकप्रति सत्तारुढ पार्टीभित्रै असन्तुष्टि देखिएको छ । याे सँगै अब ओलीको यो कदमलाई प्रतिनिधिसभाका सभामुखले समेत साथ नदिने संकेत देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका विभिन्न संवैधानिक आयोगहरुमा ४५ पद रिक्त छन् । रिक्त पदहरुमा परिपूर्ति गर्न प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आएका छन् । विभिन्न पदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भागबण्डाको सहमति गर्न तयार भए पनि प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरुसँग भने परामर्श गर्न मञ्जुर छैन ।

स्थायी कमिटी बैठक जारी रहेको र पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका ओलीले विपक्षी दललाई समेत सहमतिमा ल्याएर विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने र पार्टीभित्रका विरोधी समूहलाई दबाबमा राख्ने रणनीति बनाएका छन् ।