२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात थुनामा परेका छन् । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश विशेष अदालतले दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए । बालुवाटार जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छेदार लगायत थुप्रै माथिल्लो तहका कर्मचारी मुछिएका थिए ।












