Ad #144479

२६ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने भएको छ। कांग्रेसले आगामी सोमबार वर्तमान सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । यस प्रयोजनका लागि पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जिल्ला खटाएको छ ।

गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो। यसबाहेक कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको बताएको छ। भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा उसको विरोध छ।

पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताउने गरेको छ। मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ। शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन्।