२४ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन० ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
“कोभिड– १९ को विषम परिस्थितिमासमेत महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसा बढ्नु दुःखलाग्दो विषय हो”, उहाँले भन्नुभयो । सो अवसरमा नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले महिला र पुरुषमा एकअर्काको अस्तित्व स्वीकार्य नभएसम्म हिंसा कम नहुने बताउनुभयो । एनजिओ फेडेरेसनका अध्यक्ष जीतराम लामाले महिला मात्र नभइ अहिले पुरुष पनि हिंसाको शिकार हुने गरेको जनाउँदै चेतनशील प्राणीले हिंसा गर्नै नहुने बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले विशेषगरी सरकारी कार्यालयमा महिला र पुरुष एकै पदमा भए पनि महिला भएकै कारण समान सम्मानजनक व्यवहार नहुने गरेको दुःखेसो पोख्नुभयो । महिला अधिकारकर्मी डा रेनु अधिकारीले महिलामाथि हुने हिंसाको प्रभाव उनीहरुमा मात्र सीमित नहुने बताउनुभयो । अधिवक्ता कुमारी खरेलले महिला हिंसा विरुद्ध विभिन्न कानून आए पनि त्यसको कार्यान्वयनको पाटो अझै फितलो रहेको बताउनुभयो ।
फेकोफनका अध्यक्ष भारती पाठकले हिंसाविरुद्धको आवाजलाई सशक्त रुपमा एकजुट भएर बुलन्द पार्नु आवश्यक रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “महिलाको ५० प्रतिशत सहभागिता र हिंसा अन्त्यका लागि फेकोफनले स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको छ, समाजमा समानताको स्थिति नभएसम्म हामीले यो मुद्दा उठाइरहन्छौँ ।”












