विवेकशील र साझा पार्टीको एकता घोषणा बुधबार हुने

२२ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने टुंगो लागेको छ । साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राख्ने गरी सहमति भएपछि बुधबार एकीकरणको घोषणा गरिँदैछ ।

अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको विवेकशीलकी नेतृ रञ्जु दर्शनाले बताइन् । ‘उनका अनुसार कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गरेरै एकीकरण घोषणा गर्ने विषयमा छलफल भइरहेको छ ।

साझासँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएपछि विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने जनाएका थिए । उनीहरुले १८ मंसिरमा प्रेस विज्ञप्ति समेत जारी गर्दै तत्काल एकता गर्न उपयुक्त समय नभएको बताएका थिए ।

तर रञ्जु दर्शनाले भने यसपटक दुई पार्टीबीच एकीकरणको जग बलियो भएको बताउँदै उनले अब आमनागरिकको वैकल्पिक शक्तिप्रतिको आशा र भरोसालाई टुट्न नदिने बताइन् ।

यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । त्यसबेला विवेकशीलका उज्जवल थापाले रवीन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए । पार्टी फुट्नु १६ महिना अघि मात्रै दुई पार्टीबीच एकता भएको थियो ।

[sidebar name="button post"]