ओलीले पत्रमार्फत भने, खेलको नियम जबर्जस्ती परिवर्तन गरेर हुन्छ ?

२१ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा आउन नसक्ने जानकारी दिएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए ।

पत्र मार्फत ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरूलाई खेलको नियम जबर्जस्ती परिवर्तन गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । आज बसेको स्थायी कमिटी बैठकमा अनुपस्थित हुनेबारे एक पत्र लेखेर अध्यक्ष ओलीले खेलको उत्तरार्द्धमा जसरी पनि जित्ने महत्वाकांक्षाका साथ खेलको नियम जबर्जस्ती परिवर्तन गर्न लागेको जनाएका हुन् ।

नेकपामा पछिल्लो समय पत्र जुहारी चलिरहेको छ । २२ कात्तिकमा प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक माग गर्दै अध्यक्ष ओलीलाई दुई पन्ने पत्र लेखेका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले २५ कात्तिमा १० पृष्ठको पत्र लेखे ।

२८ कात्तिकमा बसेको पार्टी सचिवालयको बैठकमा प्रचण्डले ७ पृष्ठको प्रतिउत्तरका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । तर ओलीले स्थायी कमिटीको निर्णय र पार्टीको स्थापित परम्परा विपरीत आफ्नाविरुद्ध अभियोग पत्र वितरण गरिएको र आफूमाथि संगीन फौजदारी आक्षेप समेत लगाएकाले बैठकमा छलफल हुन नसक्ने अडान लिएका छन् । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने प्रस्ताव निःशर्त फिर्ता हुनुपर्ने उनको अडान छ ।

ओलीले लेखेको पत्रको पूर्ण पाठ निम्न छ –

स्थायी कमिटीका प्रिय कमरेडहरू,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ।

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझाबमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत २०७७ कात्तिक २८  अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘प्रस्ताव’का नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नुभएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरू जानकार नै हुनुहुन्छ ।

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रूपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका संगीन फौजदारी आक्षेपहरूसमेत लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु ।

पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निसर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने  विषयमा केन्द्रित भएर  बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने  भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।

तर उक्त अभियोगपत्रसहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरूलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुऱ्याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरूलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैँभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरासमेत स्पष्ट पार्न चाहन्छु ।

कमरेडहरू, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिस्ट आन्दोलनका दुवै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिस्ट पार्टीको तस्बिर मात्रै मेरो मनमा अंकित थियो ।

हामीले एकीकरणको संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गऱ्याैँ र पार्टीका कतिपय वैचारिक, संगठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुंग्याउने निर्णय गऱ्याैँ । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ । त्यसैअनुरूपका संरचना निर्माण  गरिए ।

तर, मलाई थाहा थिएन– खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरू ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारीसमेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।

आज पनि म दोहोऱ्याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरू त्यसैअनुरूप सहमतिका आधारमा चल्नुपर्दछ ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवनआदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।

अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज इतिहासकै गम्भीर संकटमा छ । यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्वमोह–सत्तामोहका कारण निम्तिएको छ ।

मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर, पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।

मलाई स्थायी कमिटीका कमरेडहरूको सामूहिक विवेकमाथि विश्वास छ । गत भदौ २६ गते पनि कमरेडहरूले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनुभएको थियो।

आशा छ, कमरेडहरूले यसपटक पनि व्यक्तिविशेषका स्वार्थका लागि आन्दोलनकै िसकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ ।

हार्दिक अभिवादनसहित,
केपी शर्मा ओली
अध्यक्ष एवं प्रधानमन्त्री
२०७७ मंसिर २१

[sidebar name="button post"]