१७ मंसिर, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा काठमाडौंको माइतीघर र पोखराको महेन्द्रपुलमा विरोध प्रदर्शन आह्वान गरिएको छ । नेपाल विद्यार्थी संघको आह्वानमा काठमाडौंको माइतीघरमा साढे ५ बजे विरोध प्रदर्शन गर्न लागिएको महामन्त्री युवराज पाण्डेले बताए ।
पौडेल शान्तिपूर्ण कार्यक्रममा गएका बेला अवरोध गर्नुका साथै पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको पाण्डेले बताए । प्रदर्शनमा सहभागिताका लागि नेविसंघले आह्वान गरेको छ । यस्तै कास्कीको पोखरा महेन्द्रपुलमा पनि विरोध प्रदर्शन आयोजना गरिएको छ ।
नेविसंघको आह्वानमा पोखरामा पनि प्रदर्शन हुन लागेको हो । पौडेलको रिहाईको माग गर्दै अरु राजनीतिक दलका नेता कार्यकर्ताले पनि प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् ।












