१७ मंसिर, काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तनहुँमा पुल उद्घाटन गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल र तनहुँका कार्यवाहक सभापति जित प्रकाश आलेलाई पक्राउ गरिएको हो । वरिष्ठ नेता पौडेल व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न गएका थिए । तर जिल्लाका नेकपा नेताहरुको निर्देशनमा प्रशासनले कडाई गरेको थियो ।

पौडेल पुल उद्घाटन गर्न पुगेपछि सदरमुकाम दमौलीमा नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गरेर भीडभाड शुरु गरेका थिए । प्रदर्शनले गर्दा अशान्ति भएको भन्दै प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो ।
नेकपाले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो । त्यही प्रर्दशनको आडमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सुरक्षा प्रवन्ध मिलाउनुको साटो पूर्वाधार विकास कार्यालय तनहुँलाई दबाब दिएर पुल उद्घाटन स्थगन गरिदिन अनुरोध भएको पत्र लेख्न लगाएका पाइएको छ ।
पूर्व निर्धारित भएकाले पुल उद्घाटन गरिने कांग्रेसले जनाएपनि प्रशासनले गर्न दिएन् । प्रहरीले पक्राउ गरेर हिराशतमा लिएपछि कांग्रेस वरिष्ठ नेता पौडेलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूलाई पक्राउ गरेर हिराशतमा राखिएको र प्रहरीको आडमा गुण्डागर्दी गरिएको बताएका छन् ।












