१६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाभित्रको चर्किदो विवादमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि राजीनामा चर्काउने भएका छन् । प्रचण्डकै जोडबलमा दिउँसो धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा प्रचण्डले ओलीको फेरि पनि राजीनामाको माग चर्काउने तयारी भएको हो ।
यसअघि बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले अडान दोहोर्याएपछि धुम्बाराहीमा बैठक राखेर राजीनामा चर्काउने योजना प्रचण्डको छ । यसअघि बालुवाटार बैठकमा ओलीले राजीनामा नदिने, प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने अडान राखेका थिए।
तर प्रचण्डले मानेका छैनन् । आफ्नो प्रस्तावमाथि छलफल गरेर ओलीको राजीनामा माग्ने प्रचण्डको योजना छ । जसमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि साथ दिइरहेका छन् ।
पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्डको कित्तामा उभिएका छन् । अध्यक्ष प्रचण्डले दुवै राजनीतिक प्रस्ताव सचिवालयबाट स्थायी कमिटी र केन्द्रिय समितिमा लैजाने र त्यो नमानेको खण्डमा राजीनामा माग्ने तयारी गरेका हुन् ।
ओलीले प्रस्ताव नलगे बहुमतका आधारमा पनि स्थायी कमिटी र केन्द्रिय समिति बैठक सञ्चालन गर्ने तयारी प्रचण्ड पक्षको छ । जसबाट ओली पक्ष तर्सिएको छ । स्थायी कमिटी र केन्द्रिय कमिटीमा ओली र प्रचण्डका प्रस्ताव छलफलमा भएमा ओलीले राजीनामा दिने अवस्था आउने सम्भावना छ ।
सोही कारण ओली सचिवालयमै विवाद सामसुम पार्ने पक्षमा छन् । तर त्यो सजिलो भने छैन् । मंगलबारको सचिवालय बैठकले नेकपाभित्रको नयाँ विवादबारे थप जटिलता ल्याउने अनुमान छ ।











