महासंघको चुनावमा ढकाल र प्रधानबीच चर्को प्रतिष्पर्धा, कसले मार्ला बाजी ?

१२ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव हुन अझै केही घण्टा बाँकी छ । वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी मैदानमा छन् । बिहीबारदेखि काठमाडौंमा शुरु भएको साधारणसभामा आगामी नेतृत्वका लागि शनिबार मतदान हुनेछ ।

सहमति नभए शनिबार बिहानदेखि चुनाव शुरु हुनेछ । यसपटकको चुनावमा ढकाल र प्रधानबीच चर्को प्रतिष्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले पछिल्ला बर्षमा महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि चुनाव हुने गरेको हो ।

अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अब स्वतः अध्यक्ष बन्नेछन् । स्वतः अध्यक्ष हुन लागेका गोल्छाले वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई समर्थन गरेका छन् । समर्थन मात्रै होइन, प्रधानलाई जिताउन गोल्छा चुनावी अभियान्ता नै बनेका छन् ।

यसले अर्का बलियो दाबेदार चन्द्र ढकाललाई ठूलो धक्का दिएको छ । ढकाल र प्रधानबीच कडा प्रतिष्पर्धा शुरु भएपछि महासंघको चुनाव पनि रोचक हुने अपेक्षा छ ।

[sidebar name="button post"]