८ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ ।
मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । सोही दिन श्रींगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण भएको उल्लेख गरेको छ । भारतीय विदेश मन्त्रालयले यो भ्रमण परम्परादेखि उच्च तहमा हुँदै आएको भ्रमण आदान प्रदान र भारतको नेपालसँगको उच्च सम्बन्धको निरन्तरता भएको बताएको छ ।












