सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।
ओलीले नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।
नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।
प्रधानमन्त्री ओलीले पछिल्लो चरण पार्टीमा देखिएको विवादकै विषयमा उनीहरुसँग छलफल गर्न खोजेको स्रोतको भनाइ छ । सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन्।
पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।











