प्रधानमन्त्री केपी शर्मा ओलीसँग तिक्तता बढेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार नजाने घोषणा गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले अब वार्ताकै लागि भनेर बालुवाटार नजाने घोषणा गरेका हुन् ।
ओलीले छलफलमा सहमति गर्नुको साटो दम्भ देखाउने काम गरेको भन्दै प्रचण्डले अब बालुवाटार नजाने र ओलीसँग परामर्श पनि नगर्ने बताएका छन् । पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेपनि सहमति हुन भने सकेन ।
भेटमा प्रचण्डले सचिवालय बैठक डाक्न आग्रह गरेपनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए । अघिल्लो शनिबार मात्रै ओलीले प्रचण्डसँग पार्टी फूटाउने प्रस्ताव गरेका थिए । सोही कारण पनि सम्बन्धमा पूर्ण दरार आएको थियो । यसपटक पनि ओलीले सोही प्रवृत्ति देखाएपछि बालुवाटार नजाने घोषणा गरेर प्रचण्ड खुमलटार फर्किएका हुन् ।












