गण्डकी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धीहरूको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
पाँचदलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो ।
यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशितालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उहाँले भन्नुभयो, “सबैको समावेशिता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।”
‘एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?’, प्रश्न गर्दै देउवाले भने, ‘मुलुकलाई बचाएर लोकतन्त्र, संघीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैसँग भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ ।’
देउवाले संविधानको रक्षा, समावेशी, संघीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता रहेको बताए। गठबन्धनको सरकार बनेपछि धेरै अवसर सिर्जना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उनको भनाइ थियो।









