काठमाडौँ : पछिल्लो समय काठमाडौँका स्थायी बासिन्दाको एउटै गुनासो छ, ‘नेपालमा छोराछोरी बस्दैनन् । प्लस टू सकेपछि युरोप अमेरिका गइहाल्छन् ।’ यो गुनासो मात्रै होइन, काठमाडौँका स्थायी बासिन्दाको हैरानी पनि हो । काठमाडौँमा काठमाडौँकै मान्छे बस्दैनन् । पढेलेखेका युवा झनै बस्दैनन् ।
समाजमा पढेलेखेका युवा नहुँदा विकृति हुने भयो नै । त्यही कुराको फाइदा टाठा बाठा राजनीतिक दलका नेता कार्यकर्ताले उठाएका छन् । काठमाडौँका राजनीतिक दलको ‘मोनोपोली’ र मनोमानी तोड्न यसपटक संसदीय चुनावमा काठमाडौँकै युवा प्रकाश अधिकारी चुनावी मैदानमा होमिएका छन् ।
काठमाडौँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेद्वार बनेका अधिकारी त्रिभुवन विश्वविद्यालयमा पीएचडी अध्ययन गरिरहेका छन् । युवा र वैकल्पिक राजनीति राम्रोसँग बुझेका युवा अधिकारी आगामी दिनमा काठमाडौँको राजनीति बदल्ने रोलमोडल बन्ने अभियानमा छन् ।
काठमाडौँका सबै कुना काप्चाको राम्रो ज्ञान भएका उनी विज्ञान, प्रविधि र राजनीतिका पोख्त वक्ता समेत हुन् । राजनीतिशास्त्र राम्रोसँग बुझेका उनी कानुनी ज्ञानसहित अधिवक्ता समेत हुन् । धेरै विषयमा ज्ञान हासिल गरेका उनी पार्टी र नेताहरुको हैरानीका कारण यसपटक स्वतन्त्र भएरै चुनावी मैदानमा उत्रिएको बताउँछन् । ‘म धेरै विषय पढेर विदेश गइन् । वर्षौ वर्ष काठमाडौँमै बस्दा पार्टीका नेता र नेतृत्वको हैरानी बुझेको छु’ उनले कागेश्वरीखबरसँग भने, ‘अब काठमाडौँको भविष्य अरुले बदल्ने होइन ।
हामी आफैँले बदल्ने हो । काठमाडौँमा पढेलेखेका युवा बस्ने गरि विकासको बाटो बदल्न यसपटक स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी मैदानमा छु ।’











