राजनीतिक मात्र नभइ व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले राजनीतिक मात्र नभइ व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने बताएकी छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को मधेस प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भनिन्, ‘आर्थिक अधिकार व्यवहारमा कार्यान्वयन नहुँदासम्म महिलाको हक सुनिश्चित भएको मान्न सकिँदैन।’

पैतृक सम्पत्तिमा बराबर अधिकार कायम गराउने गरी महिला आन्दोलनका अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले राजनीतिक र मौलिक अधिकारको पनि व्यवहारमा कार्यान्वन नभइसकेको अवस्थामा महिलाहरू आफ्ना अधिकारका लागि सक्रिय भएर वकालत गर्नुपर्ने बताइन्।

आफूहरूले परिवर्तन र अधिकारका विषय उठाउँदा जेल भोग्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले भनिन्, ‘विगतमा हामीले अधिकार माग्दा जेल भोग्नुपर्थ्यो, म त १६ वर्षकै उमेर जेल परेको थिएँ, जनयुद्धमा अधिकारका लागि आन्दोलनमा होमिएका दुई हजार ५०० महिला सहिद भए, अब पनि अधिकारका लागि निरन्तर वकालत र आन्दोलन गर्नुपर्छ।’

अधिकारका लागि निरन्तर सुझारु आन्दोलनको खाँचो पर्ने भएकाले परिवर्तनकारी नेकपा (माओवादी केन्द्र)मा रहेर आफ्ना अधिकारका लागि निर्वाचनमा माओवादीको एजेण्डा लिएर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिइन्।

[sidebar name="button post"]