९ पौष, काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका सरस्वती क्याम्पसका उपप्राध्यापक प्रमोदहरि गुरागाईंले पदबाट राजीनामा दिएका छन्।
राजनीतिमा लागेका प्राध्यापक एवं कर्मचारीलाई कारबाही गर्ने त्रिभुवन विश्वविद्यालयको सूचनापछि उनले त्रिवि अन्तर्गतको सरस्वती क्याम्पसबाट राजीनामा गरेका हुन्। गुरागाईं कांग्रेस केन्द्रीय सदस्यमा भने पराजित भएका छन्।
गुरागाईंले सरस्वती क्याम्पसका प्रमुखसमक्ष यही पुस ६ गते बुझाएको हस्तलिखित राजीनामा ७ गतेकै मितिदेखि स्वीकृत गरिदिन अनुरोध गरेका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘यस क्याम्पसको मानवशास्त्र विषयको उपप्राध्यापक रहेकोमा अब सो पदमा रहेर काम गर्न अनुपयुक्त देखिएकोले राजीनामा स्वीकृत गरिदिनुहोला।’
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) ले संघीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट व्यवस्था गरेको छ।












