राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।
बैठकले आगामी स्थानीय तहको निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्रा. डा. गीताभक्त जोशी सदस्य सचिव रहेको समिति गठन गरेको छ ।
यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ ।
राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य महाधिवेशन गर्ने कार्ययोजना र कार्यतालिका १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
बुधबारको केन्द्रीय समिति बैठकमा ८ जना केन्द्रीय सदस्यले राप्रपाको नेतृत्व चयनमा पूर्वराजाको भूमिकाबारे छानबिन गर्न माग समेत गरेका छन् तर केन्द्रीय समितिले भने यसबारेमा कुनै निर्णय गरेन ।









