प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्धिपक्षीय भेटवार्ता

१६ कार्तिक, काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा जलवायु परिवर्तन र कोरोना भाइरसको महामारीको असर कम गर्ने तथा महामारीपछिको पुनर्उत्थानमा दुबै देश मिलेर अघि बढ्नेबारे छलफल भएको भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाएका छन् ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्नेबारे छलफल भएको देउवाले ट्वीटमार्फत जनाएका थिए ।