प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा दिने घोषणा

१५ कार्तिक, विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिनुभएको हो ।

प्रदेशसभाको हिउँदे तथा आठौँ अधिवेशनको आज बसेको बैठकमा प्रदेशसभामा नेकपा एमालेतर्फका सांसदको बहुमत नरहेका कारण राजीनामाको घोषणा गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

मुख्यमन्त्री आचार्यले आजको बैठकमा विश्वासको मत लिन यसअघि नै प्रस्ताव पेश गर्नुभएको थियो । उहाँको पक्षमा बहुमत नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुग्नुभएको हो । आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नभएको बताउनुभयो ।

हालै लोकतन्त्र र संविधानका लागि सङ्घर्ष गरेर आएका दलहरुले यसको रक्षाका निम्ति पनि एकजुट हुनुको विकल्प नरहेको भन्दै आफ्नो नेतृत्वको सरकारले छोटो समयमा पनि रचनात्मक कार्य गरेको बताउनुभयो । त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक कात्तिक २३ गते दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।