७ असोज, काठमाण्डौ। संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ ।
संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ । गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। सम्भावित कार्यसूचीमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने संसद सचिवालयले जनाएको छ।
एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ । एमालेले संसद अवरोधमात्र नगरेर सभामुख विरुद्ध नाराबाजीसमेत गरेको थियो। त्यस्तै सभामुखले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान रहेको छ।













