सर्वदलीय बैठक : एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुखलाई सुझाव

२८ भदौ, काठमाण्डौ। सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ ।

सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन भयो’, बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले भने ।

प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन् ।

सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो । ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन् ।

सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक राखेका हुन् । बैठकमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरू सहभागी थिए ।