ठाकुर पक्ष आगामी रणनीति बनाउन आन्तरिक परामर्शमा

३ भदौ, काठमाण्डौ। निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवदेन दिएको थियो । नयाँ परिस्थितिमा पार्टीलाई कुन ढङ्गले अघि बढाउने भन्नेबारे आगामी रणनीति बनाउन जसपा ठाकुर पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । परिवर्तित अवस्थामा पार्टीको आगामी रणनीति बनाउन नेताहरु आन्तरिक परामर्शमा रहेका जसपा ठाकुर पक्षका नेता केशव झाले जानकारी दिनुभयो ।

उहाँले निर्वाचन आयोगले आफ्नो प्रक्रिया पु¥याएर दल दर्तालाई औपचारिकता दिउञ्जेल पार्टीको आगामी कार्यदिशाबारे आपसी परामर्शमा नेताहरु क्रियाशील रहेको बताउनुभयो । निर्वाचन आयोगले ऐनअनुरुप नियमावली बनाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्छ । आयोगमा निवेदन दिएका नयाँ दलको दर्ताको औपचारिकताका लागि कम्तीमा २५ दिनजति समय लाग्ने बताइन्छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । सो पार्टीको आयोगमा दर्ता नं ४३४ रहेको छ । जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम सबै विवरण राखी छुट्टै दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदनका साथ सङ्लग्न गरी पेश गरिएको अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ ।”

उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो । उहाँ अहिले संयुक्त अरब इमिरेट्स पुग्नुभएको बताइएको छ ।उहाँलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उहाँको साथमा उहाँको परिवार पनि रहेका छन् ।हिंस्रकरूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उहाँले गएको आइतबार देश छोड्नुभएको थियो ।

देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्नुहुँदै उहाँले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गर्नुभएको हो ।

उहाँले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राख्नुभएको छ । त्यसक्रममा उहाँले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गर्नुभएको छ ।

उहाँलाई आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अफ्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरु र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए ।

गएको आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको संख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।

काबुल अन्तरराष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका लडाकू तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ ।