लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२८ श्रावण, बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई कांग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।

नवनियुक्त मुख्यमन्त्रीको आजै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय भइसकेको छ। हिजो मात्रै एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुखले २२ घण्टाको समयसीमा दिएका थिए ।

सोही अनुसार ४२ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेका केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुन्। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।