माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

२१ श्रावण, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गरिन्छ’, एमाले पार्टी सचिव शेरबहादुर तामाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ।

एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन्। तर एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन्।