आज पनि एमालेको स्थायी कमिटि बैठक बस्दै

१८ श्रावण, काठमाण्डौ। नेकपा एमालेको स्थायी कमिटि बैठक सोमबार पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकलेले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

पार्टी विभाजन भएको अवस्थामा जति सक्यो कार्यकर्ता नेपाल पक्षमा जान नदिनका लागि ओलीले आकस्मिक रुपमा वडा र पालिका तहको अधिवेशन गर्ने निर्णय गरेका हुन् ।

यस्तै आइतबारको बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको हो।

सोमबारको बैठकमा बाँकी विषयमा छलफल हुने छ । स्थायी कमिटिले गरेको निर्णय अर्को हप्ता बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।