जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

१६ श्रावण, काठमाण्डौ। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मतिमा दलको नेता चयन गरेको हाे ।

संसदीय दलको नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

यसअघि जसपाको महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । यसैकारण पनि जसपामा विवाद चर्किँदै गएर निर्वाचन आयोगसम्म पुगेको थियो ।

निर्वाचन आयोगले विवाद निरुपण गर्दै उपेन्द्र यादवलाई आधिकारिकता प्रदान गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो।