Ad #144479

३ श्रावण, काठमाण्डौ। संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

एक घण्टा ढिला गरी सुरु भएको यो बैठक सरकार गठनपछिको पहिलो हो । आज ४ बजे बस्ने संसद बैठकमै शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिने तयारी छ ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । जसपाको महन्त ठाकुर पक्षमा लागेर १९ दिन मन्त्री खाएकी रेणु गुरुङसहितका अन्य सांसदहरु पनि आजदेखि उपेन्द्र समुहमा खुलेका छन् । त्यसैले यो समुहको सांसद संख्या थप बढ्ने भएको छ ।

एमालेको माधव नेपाल समूहका हस्ताक्षर गर्ने २३ जना सांसदसहित अरुले पनि मत दिने संभावना छ । एमाले फूटको संघारमा पुगेका बेला देउवालाई एमालेका करिब ५० जनाले मतदान गर्ने संभावना रहेको बताइएको छ । हिजोका दिनमा केपी ओलीकै पक्षमा खुलेका कतिपय सांसद पनि पछिल्लो समय माधव समुहमा देखा पर्न थालेका छन् ।

बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । कांग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको जानकारी दिइन् ।