मध्यरातमा बालुवाटारमा बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक

८ जेष्ठ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा शुक्रबार मध्यरात मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा बस्दैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर राष्ट्रपति कार्यालयले गरे लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

यसअघि आजै साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको थियो।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए ।