प्रधानमन्त्री पदमा दुई नेताले दाबी गरेपछि राष्ट्रपति प्रधानमन्त्री नियुक्त गर्न कानुनी परामर्शमा

७ जेष्ठ, काठमाण्डौ। प्रधानमन्त्री पदमा दुई नेताले दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी कानुनी परामर्शमा जुटेकी छन्। उनले कानुनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन्।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्।

राष्ट्रपतिले दिएको समयसीमाभित्र नै ओली र देउवाले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्। उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन्।

त्यस्तै देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन्।

राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दाबी पेस गर्न दिएको समयसीमाभित्र ओली र देउवाले आआफ्नो पक्षमा बहुमत रहेको भन्दै दाबी पेस गरेका छन्।

साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओलीले साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेस गरेर बाहिरिएका छन्।

दुई जनाले बहुमत दाबी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गरेर प्रधानमन्त्री नियुक्त गर्ने बताइएको छ।

[sidebar name="button post"]