६ जेष्ठ। काठमाण्डौ। नेकपा माओवादी केन्द्रले कोरोना रोकथाम र नियन्यत्रणका लागि बनाइएको संयन्त्र सीसीएमसी खारेज गर्न माग गरेको छ। उक्त संयन्त्र संवैधानिक नभएकाले खारेज गर्नुपर्ने माग माओवादीले गरेको हो।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामा लागि प्रधानमन्त्री केपी ओलीलाई भोलि शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ।
कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला सरकार स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको तथा रोकथाम र नियन्त्रणमा असफल भएको निष्कर्ष बैठकले निकालेको छ ।
पार्टीले एउटा कोष खडा गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै आवश्यक स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्थापन गर्नका लागि माओवादीले पनि अग्रसरता लिने निर्णय गरेको स्राेतले बताएकाे छ ।
स्थायी कमिटी बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय पनि गरेको छ । माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलिय र सर्वपक्षिय समिति बनाउनुपर्ने पनि बताएको छ ।












