ठाकुर र महतो निकट सांसद भक्तपुरस्थित एक रिसोर्टमा भेला

३० वैशाख, काठमाण्डौ। जनता समाजवादी पार्टी ‘जसपा’का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू निकट सांसदहरुलाई भक्तपुरस्थित एक रिसोर्टमा राखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा सकिनु केही घण्टाअघि जसपाका दुई नेताले आफू निकट सांसदलाई रिसोर्टमा लगेका हुन्। रिसोर्टमा पुगेका एक सांसदले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङका लागि आफूहरु त्यहाँ पुगेको बताए।

सरकार गठनबारे राजपमा तीव्र मतभेद छ। अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो केपी ओलीकै सरकारको निरन्तरता चाहन्छन् भने दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ सरकार बनाउने दौडधुपमा छन्।

आफूसँग बहुमत सांसद भएको दाबी गरेका महन्थ–राजेन्द्र पक्षको अहिले भइरहेको छलफलमा १३ जना सांसदमात्रै सहभागी रहेको बताइएको छ। जसपामा ३२ जना सांसद छन्। नेपाली कांग्रेसको नेतृत्वमा दलहरुले नयाँ सरकार गठनको तयारी तीव्र बनाए पनि जसपाको महन्थ–राजेन्द्र पक्ष यसमा सहमत भएको छैन।

आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यो पक्षले जसपाको भर नपर्न भनेको थियो। भेटका क्रममा महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका थिए।

[sidebar name="button post"]