१२ वैशाख, काठमाण्डौ। नेकपा एमालेले कोभिड-१९ को नियन्त्रण र रोकथाममा खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ।
एमालेको आज बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकले कार्यकर्ताहरूलाई स्थानीय तह र जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सहयोग गर्न निर्देशन दिएको हो।
एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार देशव्यापी लकडाउन गरिने छैन। ‘हट्स्पट भएका ठाउँहरूमा लकडाउन हुन सक्ने भए पनि देशव्यापीरूपमा लकडाउन भने हुँदैन,’ उनले भने, ‘अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा विस्तार गर्ने, सिलिन्डर मगाउने, कोभिड–१९ को खोप विस्तार गर्नेलगायतका काम सरकारले गर्नेछ।’
यस्तै उनले आजको बैठकले कसैलाई कारबाही गर्ने भन्नेबारे निर्णय नगरेको बताए। सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको र पार्टीभित्रैबाट फ्लोर क्रस हुन सक्नेबारे आवश्यक निर्णय लिइने ज्ञवालीको भनाइ छ।









