५ वैशाख, काठमाण्डौ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी ह्विप उल्लंघन गरेर आफूलाई विश्वासको मत दिएका नेकपा ‘एमाले’का तीन सांसदलाई मन्त्री बनाएका छन्।
शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार र कुर्मराज शाहीलाई उद्योग, पर्यटन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन्।
तीनै जनालाई आज पद तथा गोपनीयताका लागि बोलाइएको छ । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावमा एमालेको माधव नेपाल समूहका बुढा, थापा, शाही र ज्वालाले फ्लोर क्रस गरेका थिए। उनीहरूसँगै फ्लोर क्रस गरेकी सांसद देवी ओलीले भने पछि आफ्नो मत सच्याएकी थिइन्।












