१७ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरेका छन्।
नेकपा खारेज गरेको विषयमा प्रचण्डले आज सर्वोच्चमा मुद्दा दिएका थिए। त्यसतर्फ संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो भन्ने प्रश्न गरेका छन् भने निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न पनि ओलीले आग्रह गरेका छन्।
रिपोर्टस् क्लवको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न कसले रोकेको छ?’ अनि अदालतमा पार्टी एउटै गरिपाऊँ भन्ने? अदालतले गरिदिने हो पार्टी एकता? पार्टी मिलाइदिने काम अदालतको हो?’
उनले प्रचण्डलाई मिल्ने हो भने मिल्ने बाटो हिँड्न भनेका छन्। ‘मिल्ने हो भने प्रचण्डजी मिल्ने बाटो हिड्नु, डबलीको भाषा बोलेर बेकारका उल्टापाल्टा कुरा नगरेको वेश,’ उनले भने। ऋषि कट्टेललाई अदालतले न्याय दिएको उनले बताए।
फागुन २३ मा नेकपा ऋषि कट्टेलको भएको सर्वोच्चले फैसला गरिदिएको थियो। त्यससँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन: अस्तित्वमा आएका थिए।











