१२ चैत्र, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा रहेको छ ।
यसअघि बालुवाटारमा अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् । ओलीले फागुन २३ पछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव-झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरको सो पक्षले अब चाँडै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ ।
उता, बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु जुटेका छन् ।









