शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका विषयमा सरकारसँग आग्रह

१० चैत्र, काठमाण्डौ। प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताउनुभयो ।सांसद गगनकुमार थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाउनुभयो ।

सांसद खेमप्रसाद लोहनीले रोकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आशाकुमारी विंकले बझाङको सैपालका बासिन्दाले यातायातको कठिनाइका कारण चामलसमेत ढुवानी गर्न नपाएको हुँदा सडक निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद घनश्याम खतिवडाले लगानीे ठेक्काहरु अलपत्र परेका विषय सार्वजनिक भइरहेको हुँदा त्यसतर्फ सजग र सचेत भई काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद अञ्जना विशङ्खेले कोभिड–१९ पुनः फैलिएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो । सांसद उमा रेग्मीले दैनिकजसो छ महिला र किशोरीको बलात्कारपछि हत्या भएका घटना रोक्न सरकारले किन प्राथमिकतामा राखेन भनी जिज्ञासा राख्नुभयो ।

सांसद कृष्णभक्त पोखरेलले चितवन राष्ट्रिय निकुञ्जमा रहेको विश्वको दुर्लभ एकसिँगे गैंडा गणना शुरु भएकामा सरकारलाई धन्यवाद दिँदै संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

[sidebar name="button post"]