सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

१० चैत्र, काठमाण्डौ। नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको छ।

आज बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

माओवादी केन्द्रले यस्तो निर्णय लिनु पहिले कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सर्वोच्चले नेकपा फुटाएको सन्दर्भमा पुनरावलोकनमा जान सकिन्छ कि सकिँदैन भन्ने विषयमा माओवादी नेताले कानुन व्यवसायीसँग सल्लाह मागेका थिए। जवाफमा व्यवसायीहरूले पुनरावलोकनमा जान सुझाएका थिए।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा सर्वोच्चले निर्णय सुनाउने क्रममा नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको थियो। त्योसँगै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएको निर्णय पनि सुनाएको थियो।

उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

नाम जुधेको खण्डमा अर्को नाम राख भन्ने निर्देशन दिनुको सट्टा सर्वोच्चले नेकपा नै भंग गर्ने राजनीतिक फैसला सुनाएर पार्टी एक हुन नदिने चाल चलेको भन्दै नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पनि रुष्ट छन् ।

[sidebar name="button post"]