४ चैत्र, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहकाे भेलाले ३ महिनाको योजना बनाउने भएकाे छ । बुधबारदेखि ललितपुरको हेरिटेज होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दै स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।
आज भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिएकाे छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि योजना बनाउने र त्यसलाई सभाले पारित गर्ने छ ।
मूलभूत रुपाम वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने नेपाल समूह निष्कर्षमा पुगेको छ ।
नेपाल–खनाल पक्षले पार्टी विधानविपरीत निर्णय गरिएको भन्दै खारेज गर्नुपर्ने अडान राखेको छ । तर, अध्यक्ष ओली पक्ष २८ फागुनमा गरेको केन्द्रीय सदस्यहरूको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, विधान संशोधनलगायत निर्णयबाट पछि नहट्ने मनस्थितिमा छ । राष्ट्रिय भेला नरोक्ने र ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बरु समानान्तर कमिटीको अभ्यास गर्ने यो समूहको तयारी छ ।











