Ad #144479

२८ फागुन, काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । सर्वाेच्च अदालतले पुरानै हैसियतमा फर्काउने निर्णय गरेपछि पहिलो पटक राजधानी बाहिर गएका अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्ताहरुको भेलालाई आज संवोधन गर्दा यस्तो खुलासा गरेका हुन् ।

अदालतले एमाले र माओवादी केन्द्र व्यूँताइदिएकाले प्राविधिक रुपमा माधवकुमार नेपाल र झलनाथ खनालहरु उता पुग्नु भएको हो भन्दै उनले तर अब केपी ओलीले मात्रै एकलौटी गर्ने अवस्था नरहने दावी गरे । अब एमालेमा झलनाथ र माधवहरुले आफ्नो कब्जा जमाउँछन् वा बिद्रोह गर्छन् भन्दै प्रचण्डले त्यसैले स्थानीय तहका कार्यकर्ताहरुलाई संयमित हुन निर्देशन दिए ।

पार्टीका कमरेडहरुले माधवजी निकट नेता कार्यकर्तासँग कुनै समस्या परे नचिढ्याउनु भन्दै अध्यक्ष प्रचण्डले जिल्लामा हुने गतिविधिले केन्द्रमा माधवजीहरुलाई पिन्च नहोस् , कुनै काम गर्नुपरे हेडक्वार्टरसँग सल्लाह गरेर मात्र गर्न निर्देशन दिए ।

तपाईंहरु मान्नुहोस् अब एमाले सग्लो रहनेवाला छैन, माधवजीहरुले कब्जा गर्न सक्नुभएन भने विद्रोह हुन्छ , त्यतिखेर संगै मिलेर हामी संघर्षको मैदानमा जानुपर्ने हुनसक्छ– प्रचण्डले भने । माधव नेपाल पक्षसँग अझैपनि सहकार्य हुन सक्ने प्रष्ट गर्दै अध्यक्ष प्रचण्डले त्यसैले नेकपाबारे कुनै निर्णय गर्दा केन्द्रसँग सम्पर्क गर्न भनेको बताए ।