२७ फागुन, काठमाण्डौ। जनता समाजवादी पार्टी ‘जसपा’ ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुटावारमा सत्तारुढ एमाले र जसपा नेताहरुबीचको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफूहरुले राखेको माग सम्बोधनका लागि सकरात्मक रहेको जसपाले जनाएको छ ।
पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
जसपाले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन लगायतका माग राखेकाे छ । अबको वार्ता कार्यदल स्तरमा हुनेछ । एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ । यसका लागि जसपाको वार्ता टोली कार्यदललाई पूर्णता दिएर माग सम्बोधन कसरी गर्ने भन्ने सम्बन्धमा मोडालिटी तयार गर्ने निर्णय भएको नेता कर्णले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओली, एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए ।
एमालेका तर्फबाट नेम्वाङ, पौडेल र भट्टराईलाई कार्यदलको जिम्मेवारी दिइएको छ । जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।












