Ad #144479

२४ फागुन, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् । आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्‍न गरेका थिए ।

सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रावललाई लक्षित गर्दै भने- म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नु। प्रतिनिधिसभा बैठक स्थगित भएकोमा पनि प्रधानमन्त्री ओलीले कटाक्ष गरे।

सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनेपर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको बताए ।उनले संसदमा पेस हुन लागेका अध्यादेशहरू सक्ने भए फेल गरेर देखाउन पनि चुनौती दिए।

हिजोको संसद् बैठक दाहाल-नेपाल समूहले बहिष्कार गरेको थियो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । त्यसपछि संसद्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।