२३ फागुन, काठमाण्डौ। सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादमा ऋषि कट्टेललाई आधिकारिक मानेको निर्णयलाई नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनपेक्षित भनेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।
सर्वाेच्चको फैसला सार्वजनिक भएलगत्तै आज संसद सचिवालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यसबारे विस्तृत जानकारी नपाएकोले अध्ययनपछि मात्रै थप टिप्पणी गर्ने बताए । हामीले अपेक्षा गरेभन्दा विपरित निर्णय आएको छ, थप कुरा बुझेर मात्रै अरु बोलौंला – उनले भने ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।












