मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा

२२ फागुन, काठमाण्डौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।

शनिबार देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘वेटिङ प्राइममिनिष्टर’ भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘वेटिङ प्राइममिनिष्टर’ हो, तर म त्यसमा पनि छैन हेर्नुस्’, उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’ नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको पनि देउवाले बताए।

नेकपाकाे दाहाल–नेपाल समूहले कांग्रेससँग मिलेर देउवाकाे नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले भने आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीकाे प्रस्ताव नगर्ने बताएका थिए।

[sidebar name="button post"]